काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा निस्कने भएको छ। नेपाली टोली सोमबार केन्या जाने नेपाल क्रिकेट संघ (क्यान)का महाप्रबन्धक वृतान्त खनालले जानकारी दिए। ‘५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाल सोमबार केन्या भ्रमणमा निस्कँदै छ’ खनालले भने, ‘नेपाली टोली मंगलबार केन्या पुग्ने तालिका रहेको छ।’
नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन्। नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ। यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ। नेपालले घरेलु टोलीसँग सुरुवातमा टी–२० सिरिज खेल्नेछ।
नेपाल र केन्याबीचको पहिलो टी–२० भदौ ९ गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। दोस्रो टी–२० भदौ १० गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछ।
यस्तै, तेस्रो टी–२० भदौ १२ गते, चौथो टी–२० भदौ १३ गते र पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यी म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाटै सुरु हुनेछन्। एकदिवसीय सिरिजको पहिलो खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु हुनेछ।
तीनै एकदिवसीय म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछन्। केन्या जानुअघि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले प्रतिक्रिया दिएका छन्। उनले सिरिजका लागि राम्रो तयारी भएको बताएका छन्।
उनले भने, ‘हाम्रो तयारी राम्रो भएको छ। किनकी हामीलाई म्याच प्राक्टिस चाहिएको छ। र युवाका लागि यो राम्रो हुनेछ। उनीहरुका लागि अवसर हुनेछन् जे तयारी गरिरहेका छन्। मेरो विचारमा यो राम्रो हुनेछ।’
यसका साथै उनले आगामी दिनमा बीसीसीआई र भारतबाट नेपालले सहयोग लिन सक्ने पनि बताएका छन्। ‘यदी तपाईंले विगतमा हेर्नुभयो भने भारतले सबै छिमेकीलाई धेरै सहयोग गरेको छ।
बंगलादेश होस् या श्रीलंका’ कोच प्रभाकरले भने, ‘श्रीलंकाले पछि आएर विश्वकप जिते। नेपालको लागि पनि त्यही हेरिरहेको छु। नेपाली क्रिकेटको विकासका लागि नेपाल जेका लागि लायक छ उनीहरुले भारतबाट त्यो पाउनुपर्छ।’
नेपाली टिमलाई भारत लगेर खेलाउने योजना आफूसँग रहेको पनि उनले बताएका छन्। ‘निश्चय नै यदि हामीलाई भारतको जस्तो ट्रायाकमा प्राक्टिस आवश्यक छ भने। म बोर्डलाई हामीलाई सहयोग गर्नुस् भन्छु १०–१५ दिन प्राक्टिसको व्यवस्था मिलाउनुस् भनेर। उनीहरूले सहयोग गर्ने आशा छ।’ उनले थपे।
उनले नेपाली क्रिकेट समर्थकलाई आफूमाथि विश्वास गर्न आग्रह पनि गरेका छन्। उनले भने, ‘मलाई विश्वास गर्नुस्। र तपाईंले नतिजा पाउनुहुनेछ। मसँग कुनै ‘रकेट साइन्स’ छैन। तर मेरो समय लिन्छु। म विश्वस्त छु कि उनीहरुले राम्रो गर्छन्।’