काठमाडौं ।
ओमानमा जारी टी-२० एसिया कप छनोटअन्तर्गत यूएईमाथि कुवेतले ऐतिहासिक जित निकालेको छ। गए राति सम्पन्न खेलमा प्रतियोगिताको प्रमुख दाबेदार टोली यूएईलाई कुवेतले एक विकेटले पराजित गरेको हो।
कुवेतले पहिलोपटक यूएईलाई हराउँदै ऐतिहासिक जित निकाल्न सफल भएको हो। यूएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।
कुवेतलाई जितका लागि अन्तिम ६ बलमा ९ रन चाहिएको थियो। अन्तिम ओभरको पहिलो बलमै यासिन पटेलले कासिफ दाउदलाई छक्का प्रहार गरे। त्यसपछि पाँचौं बलमा मोहम्मद शफिकले चौका प्रहार गर्दै कुवेतलाई ऐतिहासिक जित दिलाएका हुन्।
कुवेतको जितमा ओपनर रवीजा संदारुवानले २५ बलमा ३ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ३४ रनको योगदान दिए। यस्तै, मिट भास्वरले २७, उस्मान पटेलले २१ र कप्तान मोहम्मद अस्लामले १९ रन बनाए।
खेलको प्लेयर अफ द म्याच चुनिएका एडसन सिल्भाले १४ बलमा २ चौका र २ छक्कासहित २५ रनको उत्कृष्ट पारी खेले। बलिङमा बासिल हमीदले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो। उसका लागि ओपनर चिराग सुरीले शानदार ब्याटिङ गरे। उनले ६१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाए।
यस्तै अर्का ओपनर मोहमम्द वासिम २३ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा आउट हुँदा वृत्य अरविन्दले ३३ रन जोडे। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। कुवेतका मोहम्मद शफिक, सैद मोनिव र शिराज खानले १-१ विकेट लिए।
यस जितसँग कुवेतले महत्त्वपूर्ण २ अंक जोडेको छ। कुवेत अंक तालिकाको दोस्रो स्थानमा छ। हारपछि यूएईको शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सम्भावना कठिन बनेको छ।
यूएई अब दुई खेल खेल्न बाँकी छ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एसिया कप खेल्न पाउनेछ। अब यूएईले हङकङ र सिंगापुरमाथि फराकिलो जित निकाल्नुपर्ने छ।
हङकङ तालिकाको शीर्ष स्थानमा रहेको छ। उसले पहिलो खेलमा सिंगापुरलाई ८ रनले हराएको थियो। यूएई तेस्रो र हङकङ चौथो स्थानम छन्। यूएईले आज सिंगापुरको सामना गर्नेछ। एसिया कप अगष्ट २७ देखि यूएईमा हुँदैछ।
यस प्रतियोगिताबाट छनोट भएर जाने टोलीले एसिया कपमा समूह ‘ए’को भारत र पाकिस्तानसँग खेल्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।