काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ ।
सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ । नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।
उनले केन्या जानुअघि राम्रो तयारी भएको बताए । उनले भने, ‘सबै युवा खेलाडीहरु प्रदर्शनका लागि तयार छन् । हामी राम्रो गर्नेछौं । राम्रो म्याच प्राक्टिस हुनेछ ।’ उनले नेपालको लक्ष्य टिमको रुपमा राम्रो प्रदर्शन गर्नु रहेको बताए ।
कप्तान सन्दीप लामिछानेले केन्या भ्रमण महत्वपूर्ण रहको बताए । उनले भने, ‘नयाँ खेलाडी र केहीको पुनरागमन छ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छन् । अपेक्षा अनुसार नै नतिजा ल्याउनेछौं ।’
क्यान अध्यक्ष चतुरबहादुर चन्दले नोभेम्बरमा हुने लिग टु शृंखलालाई ध्यानमा राख्दै म्याच प्राक्टिस गर्नका लागि केन्या भ्रमण पठाएको बताए । उनले भने, ‘नेपालमा वर्षातका बेला म्याच खेल्न नपाइरहेको बेला केन्या जाँदैछौं । पाँच टी-२० खेल नेपालको लागि महत्वपूर्ण छ ।’
तलको टिमलाई जित्दा वरीयता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी-२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए ।
कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी-२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए । नेपाली टोलीमा अर्जुन साउद नयाँ अनुहारका रुपमा छन् ।
नेपाल र केन्याबीचको खेल तालिका:
नेपाल र केन्याबीचको पहिलो टी–२० भदौ ९ गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। दोस्रो टी–२० भदौ १० गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछ।
यस्तै, तेस्रो टी–२० भदौ १२ गते, चौथो टी–२० भदौ १३ गते र पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यी म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाटै सुरु हुनेछन्। एकदिवसीय सिरिजको पहिलो खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु हुनेछ।
नेपाली टोली : सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख, आरिफ शेख(विकेट किपर),दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद(विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव ।