काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुललाई २-१ गोल अन्तरले हराउँदै युनाइटेडले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कस राषफोर्डले एक एक गोल गरे ।लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा राषफोर्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा सलाहले एक गोल गरेपनि युनाइटेड २-१ ले विजयी भयो । जितसँगै युनाइटेडले ३ खेलमा ३ अंक जोडेको छ । युनाइटेड १४ औं स्थानमा उक्लिएको छ । लिभरपुलले ३ खेलमा २ अंक जोडेको छ । लिभरपुल १६ औं स्थानमा रहेको छ ।
क्यासेमिरोको बिदाइ
स्पेनिस क्लब रियल मड्रिडले मिडफिल्डर क्यासेमिरोलाई बिदाइ गरेको छ । रियलले सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको हो ।
ब्राजिलियन मिडफिल्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित हुँदै छन् । बिदाइमा क्यासेमिरो भावुक बनेका थिए । उनले आफु पैसाका लागि युनाईटेड नगएको समेत स्पष्ट पारे ।
क्यासेमिरो अनुबन्धका लागि युनाईटेडले रियलसँग ७० मिलियन पाउण्डको सम्झौता गरेको बताईएको छ । ३० वर्षीय मिडफिल्डरले युनाईटेडसँग ४ वर्षको सम्झौता गर्ने छन् ।
युनाईटेडले थप एक वर्ष सम्झौता थपको लागि विकल्प समेत दिएको छ । क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । उनले रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । रियलका लागि क्यासेमिरोले २ सय २२ खेल्म्मा २४ गोल गरेका छन् ।