केन्यासँग नेपाल पराजित

Image

काठमाडौं ।

घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे ।

पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए ।

केन्याका इमानुएल बुन्डी र भिराज पटेलले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।

करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।