काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने शीर्ष १० भित्र परेका छन् । केन्या भ्रमणमा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ । सन् २०१८ मा आईसीसी वर्ल्ड एघारबाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ विकेट लिएका हुन् ।
सन्दीपले १६६.५ ओभर बलिङ गर्दा ३ मेडन राखेका छन् भने एक हजार ६८ रन खर्चेका छन् । उनको इकोनोमी ६.४० र औषत १२.५६ रहेको छ । सन्दीपले एक पटक एकै खेलमा ५ विकेट र दुई पटक एकै खेलमा ४ विकेट लिएका छन् ।
केन्या विरुद्धको चौथो खेलमा सन्दीपले टी-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ प्रदर्शन (५/९) गरेका थिए । उनले केन्यामा पाँच मध्ये खेलमा विकेट लिँदा एक खेलमा विकेटविहीन बने । सन्दीप केन्यामा सम्पन्न टी-२० शृंखलाको म्यान अफ दि सिरिज समेत बने ।
पाकिस्तानका दुई पूर्व बलर उमर गुल र साइद अजमलले पनि ८५ विकेट नै लिएका छन् । तर उनीहरु सन्दीप भन्दा पछि छन् । टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बंगलादेशका कप्तान शकिब अल हसन हुन् भने अहिलेसम्म जम्मा चार खेलाडीले एक सय भन्दा बढी विकेट लिएका छन् ।
शकिबले युएईमा भइरहेको एसिया कपमा मंगलबार राती अफगानिस्तान विरुद्ध खेल्दै एक सय खेल समेत पूरा गरे । उनले १२२ विकेट लिइसकेका छन् । बंगलादेश विरुद्ध ३ विकेट लिएपछि अफगानिस्तानका रासिद खान ११५ विकेटसहित दोस्रो स्थानमा उक्लेका छन् ।
न्युजिल्याण्डका टिम साउदीले ११४ र श्रीलंकाका लासिथ मालिंगाले १०७ विकेट लिएका छन् । न्युजल्याण्डका इश सोधीले ९९, पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीले ९८, बंगलादेशका मुस्ताफिजुर रहमानले ९१ र इंग्ल्याण्डका क्रिस जोर्डनले ९० विकेट लिएका छन् ।
सन्दीप भन्दा अघि रहेका मालिंगा र अफ्रिदीले सन्यास लिइसकेका छन् । अहिलेसम्म रासिद खानले सबैभन्दा छिटो टी२० मा १०० विकेट लिएका छन् । उनले ५३ खेलमा उक्त उपलब्धी हासिल गरेका थिए भने यसका लागि ६ वर्ष लागेको थियो । सन्दीपले अब ८ खेलमा १५ विकेट लिएमा टी २० अन्तर्राष्ट्रियमा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन् ।
सन्दीप लामिछानले एकदिवसीय कप्तानी छाडे, अब यी खेलाडीले पाए जिम्मेवारी
नेपाली क्रिकेट टिम केन्या भ्रमणमा रहेको छ। नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्यो। नेपालले सिरिज ३–२ ले जित्न सफल पनि भयो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज जितेको हो।
पाँचैवटै म्याच जित्ने लक्ष्यसहित केन्या गएको नेपाली टिमलाई घरेलु टोलीको कडा टक्कर दियो। नेपाल सिरिजको पहिलो खेलमा पाँच विकेटले विजयी भयो। नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो।
तेस्रो खेल ४ विकेटले जिते पनि नेपाल चौथो खेलमा ७ रनले पराजित हुन पुग्यो। अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ।
एकदिवसीय सिरिज खेल्नुअघि नेपाली क्रिकेट टिमका नियमित कप्तान सन्दीप लामिछानले कप्तानी छाडेका छन्। टी–२० सिरिज सकिएपछि सन्दीप कप्तानी छाडेर क्वारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज गएका छन्।
रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमका उपकप्तान हुन्। त्यसैले सन्दीपको ठाउँमा उनले एकदिवसीय सिरिजमा कप्तानी गर्नेछन्। सन्दीप सीपीएल खेल्न वेष्ट इण्डिज गएपछि रोहितले कप्तानी पाएका हुन्।
यो नेपालका लागि ठूलो घाटा हो। किनकि सन्दीप नेपाली टिमको मुख्य स्पिनर हुन्। यसका साथै उनी नेपालका सर्वाधिक विकेटकर्तासमेत हुन्। सीपीएल ३१ अगष्टदेखि सुरु हुँदैछ।
सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन्। सन्दीपले २०१८ देखि वेष्ट इण्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन्। गत संस्करण उनी ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएका थिए। तर, सोही समयमा नेपाली राष्ट्रिय टोलीको ओमान टुर परेकाले उनले सहभागीता जनाउन पाएनन्।
सन्दीपले जमैकाबाट दोस्रो पटक खेल्न लागेका हुन्। २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए। दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन्। अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो।


















