काठमाडौं ।
पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेल जिताउन सकेनन् ।
बलिङमा सन्दीप लामिछाने र वरिस अहमदले २–२ तथा करण केसी, आदिल आलम र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी-२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाए । यस्तै रोहित पौडेलले ४७ रन जोडे । अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।
शृंखलामा पहिलो पटक टस जितेर ब्याटिङ गरेको नेपालले ओपनिङ जोडीदेखि ब्याटिङ अर्डरमा परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले ओपनिङ गर्दै अर्धशतकिय साझेदारी गरे । एकै शृंखलामा यो तेस्रो ओपनिङ जोडी हो । यसअघि दुई खेलमा आसिफ शेख र पवन सर्राफ तथा दुई खेलमा पवन सर्राफ र अर्जुन साउदले ओपनिङ गरेका थिए ।
ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । २१ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाएर अर्जुन आठौं ओभरको अन्तिम बलमा आउट भए । तेस्रो नम्बरमा दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरे । ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।
दीपेन्द्रले १८ बलमा २२ रन बनाए । लगातार ठूलो सट खेल्ने चक्करमा ज्ञानेन्द्र १५औं ओभरको दोस्रो बलमा आउट भए । ज्ञानेन्द्रले ४४ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । शृंखलामा पहिलो पटक पाँचौ नम्बरमा ब्याटिङ गरेका पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि रोहित पौडेलले नेपालको इनिङ्सलाई अघि बढाए । तर उनी अर्धशतक बनाउनबाट ३ रनले चुके ।
इनिङ्सको तेस्रो अन्तिम बलमा आउट भए । आदिल बलम ४ र विवेक यादव २ रनमा आउट भए । करण केसी २ रनमा अविजित रहे । केन्याका लागि शेम एद्दगोचे, नेहेमिह ओडिएम्बो र भिराज पटेलले २–२ विकेट लिए ।
सन्दीपको कप्तानीमा प्रश्न
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रश्न उठ्न थालेको छ। सन्दीपले राम्रोसँग कप्तानी गर्न नसकेको आरोप लागेको हो। नेपाली समर्थकहरूले सन्दीपको कप्तानीको तीव्र आलोचना गरिरहेका छन्। सन्दीप कप्तानीमा चुकिरहेको उनीहरूको आरोप छ। केन्यासँगको निर्णायक तथा पाँचौं टी–२० म्याचमा पनि सन्दीपले खराब कप्तानीको नमूना प्रस्तुत गरे।
उनी ‘पावर प्ले’ र डेथ ओभरमा बलिङ परिवर्तन गर्न चुकेका छन्। उनले ‘पावर प्ले’मा चार बलरको प्रयोग गरे। उनले पहिलो ओभर सोमपाल कामीलाई गराए। सोमपालले पहिलो ओभरमा ८ रन खर्चिए।
दोस्रो ओभरमा उनले करण केसीलाई बलिङमा ल्याए। करणले दोस्रो ओभरको तेस्रो बलमै विकेट लिए। उक्त ओभरमा करणले मात्रै १ रन दिएर १ महत्वपूर्ण विकेट लिए। त्यसपछि आदिल आलम बलिङमा आए। उनले सो ओभरमा २ रन दिए।
त्यसपछि सन्दीपले करण र सोमपालमध्ये एकलाई बलिङमा ल्याउने अनुमान सबैको थियो। तर, सन्दीपले अनौठो निर्णय लिँदै विवेककुमार यादवलाई बलिङमा ल्याए। विवेक युवा खेलाडी हुन्। ‘पावर प्ले’मा बलिङ गरेको उनीसँग अनुभव छैन। र, अनुभवको कमी उनको बलिङमा प्रष्ट देखियो।
उनले सो ओभरमा दुई चौका, १ वाइडसहित १२ रन खर्चिए। ‘पावर प्ले’को अन्तिम ओभरमा करण बलिङमा आए र उनले ५ रन खर्चिए। ‘पावर प्ले’का दुई ओभरमा १ विकेट लिँदै मात्र ६ रन खर्चिएका करणलाई सन्दीपले पछि बलिङमा ल्याएनन्।
जसको समर्थकहरूले चर्को विरोध जनाइरहेका छन्। एकजना समर्थक भन्छन्,–‘करणले पावर प्लेमा निकै राम्रो बलिङ गरेका थिएँ। तर, उनलाई पछि बलिङमा नलाउनु सन्दीपको खराब कप्तानी भन्न सकिन्छ। किनकि उनले आफ्नो मुख्य बलरलाई नै बेवास्ता गरेजस्तो देखियो।’
सन्दीपले डेथ ओभरमा पनि करणको प्रयोग गरेनन्। सन्दीपले करणको सट्ट बासिर अहमद र दीपेन्द्रसिंह ऐरीमा विश्वास जनाए। केन्याका ब्याटरले स्पिनरलाई राम्रो खेलिरहेका थिए। सन्दीपले झन् त्यसैमा स्पिनरहरूलाई नै प्रयोग गर्नु उनको खराब कप्तानी हो। १८औँ ओभरमा बासिरले एक छक्कासहित ९ रन दिए। यसमा उनले एक विकेट पनि लिए।
१९औँ ओभरमा सन्दीप महँगा साबित भए। उनले एक चौका र एक छक्कासहित १५ रन खर्चिए। त्यसपछि २०औँ ओभरमा करणलाई ल्याने आशा फ्यानहरूको थियो। तर, उनले दीपेन्द्रलाई ल्याए। युट्युबमा म्याचको लाइभ हेरिरहेका समर्थकहरूले दीपेन्द्रलाई ल्याउने बित्तिकै ‘सन्दीपको निकै खराब कप्तानी’ भनेर टिप्पणी गरेका थिए। अन्तिम ओभरमा सन्दीपले २ चौका र १ छक्का खाँदै १६ रन खर्चिएका थिए।