Khabar Board

नेपालले फाइनलमा भारतसँग खेल्दै, यस्तो छ ‘हेड टु हेड’ नतिजा

काठमाडौं ।

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत खेल्दै छन्। कोलम्बोको रेस कोर्स ग्राउण्डमा भोलि बुधबार हुने फाइनलमा नेपालले भारतको सामना गर्नेछ। यी दुई देशबीचको फाइनल खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।

फाइनल म्याच खेल्नुअघि नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतिक्रिया दिएका छन्। उनले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल अघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने बताएका हुन् ।

‘हिजो भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेल्यो। नेपालले पनि उत्कृष्ट खेल्यो। हाम्रो कप्तान टिममा फर्किएका छन्। मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने। प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो।

दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रशिक्षक श्रेष्ठले फाइनल खेल अघिल्ला खेलजस्तै महेनत गरेर खेल्ने बताएका छन्।

उनले फाइनलका लागि टिम तयार भएकोसमेत बताएका छन्। ‘खेलाडीहरू पूर्ण फिट छन्। कप्तान फर्किएका छन्। खेलाडीले आफ्नो प्राकृतिक खेल खेलिरहेका छन्। फाइनल खेल टिम गेमको रूपमा खेल्छौं, महेनत गरेर खेल्छौं,’ मुख्य प्रशिक्षक श्रेष्ठले थपे ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो। नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो। बुधबार नेपाल त्यहीँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ। भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा छ।

नेपाल र भारतबीच यस्तो छ हेड टु हेड नतिजा

भारत जहिले पनि नेपालमाथि हाबी हुँदै आएको छ। यो प्रतियोगिता पहिलोपटक साफ यू–१७ को नाममा आयोजना भइरहेको छ। त्यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरेपनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्यो। सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो। नेपाल सेमिफाइनमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो। सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १–० ले निराश भयो। सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो।

सन् २०१७ मा यु–१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो। सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेर समूहमा सम्पन्न भएको थियो। जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.