Khabar Board

उपाधिका लागि नेपाल र भारत भिड्दै, यस्तो छ खेल सुरु हुने समय

काठमाडौं ।

श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ ।

तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पनि भारतविरुद्धको खेलमा नेपाललाई सहज नहुने बताउछन् ।

‘मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ,’ प्रि-म्याच कन्फरेन्समा मुख्य प्रशिक्षक श्रेष्ठले भनेका थिए ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो ।

नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ ।

यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

नेपाल र भारतबीच यस्तो छ हेड टु हेड नतिजा

भारत जहिले पनि नेपालमाथि हाबी हुँदै आएको छ। यो प्रतियोगिता पहिलोपटक साफ यू–१७ को नाममा आयोजना भइरहेको छ। त्यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो।

सन् २०१३, २०१७ र २०१९ मा गरी तीनपटक प्रतियोगिताको फाइनल प्रवेश गरेपनि नेपालको उपाधि लक्ष्यमा तीनैपटक भारत बाधक बन्यो। सन् २०११ मा साफ यु–१६ को पहिलो संस्करण भएको थियो। नेपाल सेमिफाइनमा भारतसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश भयो। सन् २०१३ को संस्करणमा भने नेपाल फाइनमा भारतसँग १–० ले निराश भयो। सन् २०१५ मा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग १–० ले हारेको थियो।

सन् २०१७ मा यु–१५ को उमेर समूहमा सम्पन्न प्रतियोगिताको फाइनलमा पनि नेपाल भारतसँग २–१ ले पराजित भएको थियो। सन् २०१८ र २०१९ को संस्करण पनि यु–१५ को उमेर समूहमा सम्पन्न भएको थियो। जसमध्ये सन् २०१८ मा भने नेपाल सेमिफाइनलमा पाकिस्तानसँग निराश भयो । सन् २०१९ को फाइनलमा भने नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.