काठमाडौं ।
अस्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–२० विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन् । यी दुई टोलीबीचको उपाधि भिडन्त दिउँसो १ः४५ देखि मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । लामो समयपछि उपाधिका लागि खेलिरहेका पाकिस्तान–इंग्ल्याण्डबीचको फाइनल रोमाञ्चक हुने अनुमान छ ।
यद्यपि फाइनलमा वर्षा बाधक बन्नसक्ने सम्भावना पनि छ । हालसम्म पाकिस्तान र इंग्ल्याण्डले एक/एकपटक टी–२० विश्वकपको उपाधि जितेका छन् । पाकिस्तानले सन् २००९ मा उपाधि जितेको थियो । इंग्ल्याण्डमा भएको सो संस्करणको फाइनलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।
इंग्ल्याण्डले सन् २०१० को टी–२० विश्वकप जित्यो । वेस्ट इण्डिजमा भएको सो विश्वकपमा उसले फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । यसपटक पाकिस्तान र इंग्ल्याण्ड दोस्रोपटक विश्वकप जित्दै वेस्ट इण्डिजको कीर्तिमान बराबर गर्न चाहन्छन् ।
हालसम्म सर्वाधिक टी–२० विश्वकप जित्ने रेकर्ड वेस्ट इण्डिजको नाममा छ । उसले २०१२ र २०१६ को विश्वकप जितेको थियो । यसपटक पाकिस्तान सुपर–१२ बाटै बाहिरिने सम्भावना बलियो थियो । तर, दक्षिण अफ्रिकाले नेदरल्याण्ड्ससँग हार बेहोरेपछि पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्यो ।
सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तानले फाइनलको टिकट काट्यो । त्यस्तै, इंग्ल्याण्डले सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारतलाई १० विकेटले स्तब्ध पार्दै फाइनलको यात्रा गर्न सफल भयो । पाकिस्तान–इंग्ल्याण्ड दुवै टोली उत्कृष्ट लयमा छन् । सेमिफाइनलमा शानदार जित निकालेकाले फाइनलमा दुवै टिमले प्लेइङ–११ मा खेलाडी परिवर्तन गर्ने सम्भावना कम छ ।
हालसम्म टी–२० विश्वकपमा पाकिस्तान र इंग्ल्याण्डको हेड टु हेडको नतिजा औंल्याउँदा इंग्ल्याण्ड बलियो देखिन्छ । उसले विश्वकपमा पाकिस्तानसँग भएको दुवै भेटमा जित निकालेको छ । विश्वकपमा पहिलोपटक पाकिस्तान र इंग्ल्याण्डले सन् २००९ मा खेलेका थिए । सो विश्वकपमा इंग्ल्याण्डले पाकिस्तानलाई ४८ रनले हराएको थियो । त्यस्तै, फेरि यी दुई टिमबीचको भेट २०१० को विश्वकपमा भयो । सो विश्वकपमा इंग्ल्याण्डसँग पाकिस्तान ६ विकेटले पराजित भयो ।
इंग्ल्याण्डको सम्भावित–११ : जोस बटलर (कप्तान र विकेटकिपर), एलेक्स हेल्स, फिल साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, मोइन अली, साम करन, क्रिस वोक्स, क्रिस जोर्डन र आदिल राशिद ।
पाकिस्तानको सम्भावित–११ : बाबर आजम (कप्तान), मोहम्मद रिजवान, मोहम्मद हरिस, शान मसूद, इफ्तिखार अहमद, मोहम्मद नवाज, शादाब खान, मोहम्मद वसिम, हरिस रौफ, शाहीन शाह अफ्रिदी र नसीम शाह ।