Khabar Board

विश्वकपको फाइनल उपाधि जित्न चुकेपछि यस्तो भन्छन् बाबर

काठमाडौं ।

पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अविजित ५२ रन बनाए। ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेकाे इंग्ल्याण्डलाई उनले जितसम्म पुर्‍याएका हुन् । स्टाेक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि विश्वकपमा स्टोक्सको निर्णायक प्रदर्शन यो दोस्रोपल्ट हो । उनले यसअघि घरेलु भूमिमा भएको एकदिवशीय विश्वकप फाइनलमा न्युजिल्याण्डविरूद्द अविजित ८४ रन बनाउँदै इंग्ल्याण्डलाई उपाधि दिलाएका थिए । इंग्ल्याण्डका लागि ओपनर कप्तान जस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

स्टाेक्सले माेइन अलीसँग मिलेर पाँचाैं विकेटका लागि ४८ रनकाे साझेदारी गर्दै जितकाे आधार तय गरेका थिए । अलीले १९ रनकाे याेगदान गरे। बलिङमा पाकिस्तानका ह्यारिस रउफले २ विकेछ लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।

सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउछ हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो । रिजवान १५ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके । कप्तान बाबर २८ बलमा ३२ रन बनाएर आउट हुँदा ११.१ ओभरमा पाकिस्तान ८४–३ को अवस्थामा पुगेको थियो । त्यसको अर्को ओभरमै आउट भएका इफ्तिकर अहमदले रनको खाता खोल्नै सकेनन् ।

पाँचौं विकेटका लागि शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरेका थिए । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए । त्यसपछि पाकिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

यसैक्रममा विश्वकको फाइनल हारेपछि पाकिस्तानका कप्तान बाबर आजमले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले ब्याटिङमा २० रन जति कम बन्दा आफूहरू म्याच हार्न पुगेको बताएका छन्। खेलपछि प्रतिक्रिया दिँदै बाबरले शाहिनको चोटले फरक नतिजा आएको औंल्याएका छन्।

यसका साथै उनले इंग्ल्याण्ड क्रिकेट टोलीलाई बधाई पनि दिएका छन् । ‘इंग्ल्याण्ड टोलीलाई बधाई छ, हामीलाई सपोर्ट गर्न सबैजना यहाँ मैदानमा आएजस्तो लाग्यो, उहाँहरूलाई धेरै–धेरै धन्यवाद। पछिल्लो चार खेलमा टोलीले जसरी खेलेको छ, त्यो अविश्वसनीय छ,’ बाबरले भने।

‘मैले केटाहरूलाई स्वतन्त्रताका साथ आफ्नो प्राकृतिक खेल खेल्न भनेको थिएँ। हामी ब्याटिङमा २० रन कम थियौं तर अन्तिम ओभरसम्मको लडाइ अविश्वसनीय थियो। हाम्रो बलिङ उत्कृष्टमध्ये एक हो तर दुर्भाग्यवश शाहिनको चोटले हामीलाई फरक नतिजा दियो तर त्यो खेलको हिस्सा हो।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.