युरो-२०२४ : जर्मनी अन्तिम १६ पुग्ने पहिलो टिम

Image

एजेन्सी । आयोजक जर्मनी युरो-२०२४ को अन्तिम १६ पुग्ने पहिलो टिम भएको छ । समूह ए को खेलमा जर्मनीले बुधबार हंगेरीलाई २–० ले पराजित गर्‍यो । यसै समूहको अर्को खेलमा स्कटल्यान्डले स्विजरल्यान्डलाई १–१ को बराबरीमा रोकेपछि जर्मनी अर्को चरण पुग्ने निश्चित भएको हो ।

आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई सजिलै हराएको जर्मनीका लागि हंगेरीविरुद्ध भने जमल मुसियला र इलकयी गुन्डोगनले प्रत्येक हाफमा एक/एक गोल गरे । जुलियन नेगल्समनको यो जितपछि दुई खेलबाट ६ अंक भएको छ र कम्तीमा समूह उपविजेता बन्दै अर्को चरण खेल्नेछ ।

हारले हंगेरीको नकआउट चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । उसको यो लगातार दोस्रो हार हो । स्कटल्यान्डले भने स्कट म्याक टोमनीको गोलले अग्रता लिएयता स्विजरल्यान्डका लागि जारडन सकेरीले बराबरी गोल फर्काए । यो नतिजापछि स्विटजरल्यान्डको चार अंक भएको छ भने स्कटल्यान्ड एक अंकमा रह्यो ।

बराबरीले स्कटल्यान्डको पनि अर्को चरण पुग्ने सम्भावना कायम रह्यो । अब समूहको अन्तिम दुई खेलमा जर्मनीले स्विजरल्यान्ड तथा स्कटल्यान्डले हंगेरीको सामना गर्नेछ ।