मकवानपुरमा समुदाय–केन्द्रित लागुऔषध नियन्त्रण अभियान: सचेतना मात्र होइन, व्यवहार परिवर्तनमा जोड

Image

हेटौँडा । लागुऔषध दुर्व्यसनको बढ्दो असरले परिवार, समाज र भविष्य नै जोखिममा पारिरहेको बेला मकवानपुर जिल्लामा यसविरुद्ध समुदायलाई केन्द्रमा राखेर ३ महिने जिल्ला स्तरीय अभियान सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको यो अभियानलाई सचेतना कार्यक्रमभन्दा एक कदम अगाडि बढेर व्यवहार परिवर्तन र सामाजिक पुनःएकीकरणमा केन्द्रित पहल का रूपमा हेरिएको छ।

अभियानको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागुऔषध दुर्व्यसनलाई केवल व्यक्तिगत कमजोरी नभई समग्र सामाजिक संकट का रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
“अब हामी चेतनामै सीमित हुँदैनौँ, परिणाम देखिने काम गर्छौँ,” उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लागुऔषध दुर्व्यसनलाई सार्वजनिक स्वास्थ्य समस्या का रूपमा हेरेर वैज्ञानिक, सम्मानजनक र मानव–केन्द्रित उपचार प्रणाली विकास गर्नुपर्ने बताए। प्रतिष्ठानले उपचार, तालिम र अनुसन्धानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार अभियानको मुख्य विशेषता भनेको पालिकाहरू, विद्यालय, समुदाय र अभिभावकलाई प्रत्यक्ष सहभागी बनाउनु हो।
“जोखिममा रहेका युवाको पहिचान, सेवा सन्दर्भ प्रणाली र समुदायको सक्रिय भूमिकाबाट मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ,” उहाँले बताउनुभयो।

अभियानअन्तर्गत विद्यालय तथा क्याम्पस लक्षित कार्यक्रम, युवा संवाद, सडक नाटक, घरदैलो अभियान, अभिभावक परामर्श, महिला लक्षित सचेतना, हेल्प डेस्क सञ्चालन, उपचार तथा पुनर्स्थापनामा सन्दर्भ सेवा जस्ता कार्यक्रम सञ्चालन गरिनेछन्।
सिआन पुनर्स्थापना केन्द्रले लामो अनुभवका आधारमा पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै सेवा सञ्चालन गर्दै आएको छ। केन्द्रले समुदायको विश्वास र मानव–केन्द्रित दृष्टिकोण प्रयोग गरेर अभियानलाई प्रभावकारी बनाउने जनाएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकहरूले लागुऔषध विरुद्धको अभियानलाई सरकारी कार्यक्रम मात्र नभई नागरिक अभियान बनाउने लक्ष्य लिएको स्पष्ट पारेका छन्। “लागुऔषध विरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो” भन्ने सन्देशसहित सबैलाई सहभागिताको आह्वान गरिएको छ।