हेटौँडा । हेटौँडाको सानोपोखरा, मानसचोक, नवलपुरलगायतका क्षेत्रमा राति अबेरसम्म समूहमा मोटरसाइकल चलाउँदै चर्को आवाज निकाल्ने र होहल्ला गर्ने गतिविधिले स्थानीयवासीलाई सास्ती भएको गुनासो आएको छ।
चाडपर्वको समयमा यस्ता गतिविधिले स्थानीयवासीको निद्रा र शान्त वातावरणमा असर पार्ने भन्दै सेवा सहयोग आवाज हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले प्रहरी प्रशासनलाई रात्रिकालीन गस्ती तथा निगरानी बढाउन आग्रह गर्नुभएको छ।
रातिको समयमा अनावश्यक रूपमा मोटरसाइकलको चर्को आवाज निकाल्ने, समूहमा हल्ला गर्दै हिँड्ने तथा सर्वसाधारणलाई असहज हुने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने महतको भनाइ छ।
चाडपर्व सबैका लागि खुसी र उल्लासको समय भएकाले अरूको शान्ति र सुरक्षालाई पनि सम्मान गर्नुपर्ने उहाँले बताउनुभएको छ। चाडपर्वको रमाइलो अरूको निद्रा र शान्ति खोसेर नभई सबैको खुसी र सुरक्षाको सम्मान गर्दै मनाउनुपर्ने उहाँको सन्देश छ।

















