जन्मदिनमा सामाजिक सेवाको सन्देश दिँदै समता सिग्देल

Image

हेटौँडा । जन्मदिनलाई भोजभतेर र उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने प्रयासस्वरूप हेटौँडा–४, स्कुलरोड निवासी समता सिग्देलले मामाघर नेपाल मकवानपुरका बालबालिकालाई खाना तथा खाजा सहयोग गरेकी छन् ।

मकवानपुर बहुमुखी क्याम्पसमा बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत समताले आफ्नो जन्मदिनको अवसर पारेर मामाघर नेपालमा आश्रित बालबालिकाका लागि एक दिनको खाना तथा खाजाको व्यवस्था गरेकी हुन् । उनी हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल र सबिता सिग्देलकी सुपुत्री हुन् ।

समताले जन्मदिनको खुसी बालबालिकासँग बाँड्ने उद्देश्यले सहयोग गरेकी हुन् । उनले यसअघि पनि विभिन्न वर्षमा मामाघर नेपाललाई सहयोग गर्दै आएकी छन् ।

सडक बालबालिकाको संरक्षण र व्यवस्थापनमा सक्रिय मामाघर नेपाल स्थानीय दाताहरूको सहयोगबाट सञ्चालन हुँदै आएको छ । संस्थामा आश्रित बालबालिकाको हेरचाह तथा दैनिक आवश्यकताका लागि दाताहरूको सहयोग महत्त्वपूर्ण रहँदै आएको छ ।