कर्णाली शिवराजको ब्रान्ड एम्बासडर बने राजेश हमाल, मार्सल आर्ट्सका रविन्द्र ढाँट ‘फेस अफ कर्णाली’

Image

काठमाडौँ — नेपाल भलिबल लिग (एनभिएल) को टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। लक्षरा फिल्मस् प्रा.लि.द्वारा आयोजित विशेष समारोह तथा पत्रकार सम्मेलनमार्फत हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरिएको हो।

समारोहमा हमालले आफू सधैँ खेलप्रति रुचि राख्ने र राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा खुसी व्यक्त गरे। हमालको नेतृत्व र प्रेरणाले टोलीको अभियानलाई राष्ट्रियस्तरमा थप सशक्त बनाउने विश्वास लिइएको छ।

यसैगरी, व्यावसायिक मिश्रित मार्सल आर्ट्स (MMA) फाइटर रविन्द्र ढाँट (बझाङ्गी बाघ) लाई ‘फेस अफ कर्णाली’ का रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सुमित्रा रेग्मी लाई ‘ग्लोरी अफ कर्णाली’ को रूपमा आबद्ध गराइएको छ। कर्णाली प्रदेशमा जन्मिएर नेपाली भलिबलमा विशिष्ट पहिचान बनाउन सफल राष्ट्रिय टोलीका सदस्यद्वय प्रगति नाथ र कामना विष्ट लाई ‘क्विन्स अफ कर्णाली’ का रूपमा सार्वजनिक गरिएको छ।

सोही अवसरमा कर्णाली शिवराजले आफ्नो आधिकारिक थिम सङ (Theme Song) समेत सार्वजनिक गरेको छ। प्रसिद्ध सङ्गीतकार सुरेश अधिकारीको रचना तथा सङ्गीत रहेको उक्त थिम सङमा कृष्ण विकले स्वर दिएका छन्।

टोलीले भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट लाई मेन्टरका रूपमा भित्र्याएको छ। कर्णाली शिवराजका प्रमुख कार्यकारी अधिकृत अशोक भट्टले आगामी नेपाल भलिबल लिगमा कर्णालीको गौरव, पहिचान र खेलप्रतिको समर्पणलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।