हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिन्धुली जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै धार्मिक सम्पदा संरक्षण, स्वास्थ्य सेवा विस्तार र कृषि शिक्षाको पूर्वाधार विकासबारे चासो व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री मगरले कमलामाई नगरपालिकास्थित रक्तमाला मन्दिरमा आयोजित विजयादशमी विशेष कार्यक्रममा सहभागिता जनाउनुभएको छ। रक्तमाला मन्दिर संरक्षण समितिद्वारा आयोजित कार्यक्रममा उहाँले धार्मिक आस्था, मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले यस्ता गतिविधिले सामाजिक सद्भाव, एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्दै आयोजक समितिलाई धन्यवाद दिनुभएको थियो।
यसैगरी, मुख्यमन्त्री मगर सिन्धुलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभयो। सो अवसरमा उहाँले स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालासँग भेटघाट र छलफल गर्नुभएको थियो।
















