काठमाडौं । कप्तान रोहित पौडेलको शतकीय इनिङ्ससँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा क्यानडामाथि २४ रनको जित निकालेको छ। ओमानमा जारी खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै अलआउट भयो।
नेपालको जितमा रोहितले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरे। उनले १२५ बलमा ८ चौका र १ छक्कासहित १०१ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको थियो। आशिफ शेख ४ रनमा र इशान पाण्डे खाता नखोली आउट भए। अर्जुन कुमालले २३ रन बनाएर पभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो।
त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। बसिरले ३० रन बनाए। रोहितले गुल्सन झासँग छैटौँ विकेटका लागि ८२ रनको साझेदारी गरे। गुल्सनले ३४ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए।
नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। क्यानडाका अखिल कुमारले ४ विकेट लिए भने सुखजिन्दर सिंहले ३ विकेट हात पारे। २३६ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि आरोन जोन्सनले ४४ र समित गोहेलले ३५ रन बनाए। श्रेयाश मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। अखिल कुमार ३० रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान २ विकेट लिए। नेपाली बलरले क्यानडालाई २११ रनमै समेट्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए। यस जितसँगै नेपालले ३३ खेलमा १२औँ जित दर्ता गर्दै २६ अंक पुर्याएको छ। नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।

















