हेटौँडा । चाडपर्वको खुसी साटासाटसँगै विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–१५ को वडा कार्यालयले बाढीमा ज्यान गुमाएका तीन युवाका परिवारलाई आर्थिक राहत हस्तान्तरण गरेको छ।
नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका स्व. सुमन गोले, स्व. रमेश मगर र स्व. हिरालाल स्याङ्तानका परिवारलाई राहत रकम प्रदान गरिएको हो।
वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र जिल्ला समन्वय समिति मकवानपुरका पूर्वप्रमुख रघुनाथ खुलाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
वडा अध्यक्ष मोक्तानको विशेष सक्रियतामा स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका स्थानीय युवाहरूबाट सङ्कलित राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो। सङ्कलित रकमबाट स्व. सुमन गोलेकी पत्नी रेविका गोले, स्व. रमेश मगरकी पत्नी रमिता मगर र स्व. हिरालाल स्याङ्तानकी पत्नी निर्मला स्याङ्तानलाई संयुक्त रूपमा राहत प्रदान गरिएको थियो।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, चुरियामाई गाउँ विकास समितिका पूर्वअध्यक्ष इन्द्रमान स्याङ्तानलगायत जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको उपस्थिति थियो।
बाढीमा ज्यान गुमाएका युवाहरूको स्मृति र सम्मानमा हेटौँडा–१५ वडा कार्यालयले वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितालगायत विभिन्न सामाजिक तथा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। चाडपर्वको अवसरमा आयोजित कार्यक्रमले शुभकामना आदानप्रदानसँगै दुःखमा परेका परिवारलाई सहयोग गर्दै सामाजिक सद्भाव, एकता र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको छ।

















