हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, नागरिकताका ५२ प्रतिलिपि बरामद

Image

हेटौँडा । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशङ्कामा मकवानपुर प्रहरीले हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २२ गते दिउँसो हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरास्थित एक घरमा डेरा गरी बस्ने व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव, सोही स्थानका १९ वर्षीय पवन कुमार दास र बौधिमाई नगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, प्रयोग भइसकेका एनसेलका २२ थान सिमकार्ड, सिलप्याक अवस्थामा रहेका २१ थान सिमकार्ड तथा अन्य व्यक्तिका नाममा रहेका चार थान चेकबुक बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। नागरिकता प्रतिलिपि, सिमकार्ड र चेकबुक कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

तीनै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।