प्रहरीप्रतिको जनविश्वास नै संगठनको ठूलो शक्ति : मुख्यमन्त्री

Image

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्रीले विपद्का बेला नागरिकको जीवन रक्षाका लागि नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै प्रहरी सेवालाई निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा मुख्यमन्त्रीको तर्फबाट व्यक्त सम्बोधनमा प्राकृतिक विपद्का घटनामा जोखिम मोलेर नागरिकको उद्धारमा खटिने प्रहरी कर्मचारीको योगदानको प्रशंसा गरिएको हो।

सम्बोधनमा हालै भोटेकोसीमा आएको बाढीका क्रममा नेपाल प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धार, राहत वितरण, प्रभावितको सुरक्षित स्थानान्तरण र बेपत्ता व्यक्तिको खोजीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

प्रतिकूल मौसम, अवरुद्ध सडक र जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद प्रहरी कर्मचारीले नागरिकको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै मुख्यमन्त्रीले उनीहरूको साहस, कर्तव्यनिष्ठा र मानवीय सेवाभावप्रति सम्मान व्यक्त गरेका छन्। बूढीगण्डकी नदी क्षेत्रमा आएको बाढीले समेत विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता स्मरण गराएको सम्बोधनमा उल्लेख छ।

मुख्यमन्त्रीले शान्ति, सुरक्षा र कानुनी शासनलाई विकास, समृद्धि तथा सुशासनको आधारका रूपमा व्याख्या गर्दै नागरिकले सुरक्षित वातावरणमा आफ्नो दैनिक जीवन, पेसा तथा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताएका छन्।

अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागूऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकालाई पनि सम्बोधनमा महत्त्व दिइएको छ।

प्रहरीप्रतिको जनविश्वास संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कानुन सबैका लागि समान रहेको अनुभूति नागरिकले गर्न पाउनुपर्नेमा जोड दिइएको छ। पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले प्रहरीप्रतिको विश्वास बलियो बनाउने सम्बोधनमा उल्लेख छ।

बागमती प्रदेशमा बढ्दो सहरीकरण, सवारी चाप, सडक दुर्घटना, लागूऔषध दुरुपयोग, साइबर अपराध र घरेलु हिंसाजस्ता चुनौती रहेको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि प्रदेश सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय तह र नागरिक समाजबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

सम्बोधनका क्रममा भोटेकोसी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो। साथै, विपद्का बेला कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीका परिवारजनको योगदानप्रति समेत सम्मान व्यक्त गरिएको थियो।