हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थितिमा आयोजित कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री थापामगरले भक्तपुरको मौलिक कला, संस्कृति, सम्पदा र परम्पराको संरक्षणमा जोड दिनुभयो।
यसै अवसरमा श्री नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता र सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत उक्त सहयोग उपलब्ध गराइएको हो।
मुख्यमन्त्री थापामगरले धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरणका लागि बागमती प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताउनुभयो।
















