भुटानमा हुने टी–२० सिरिजका लागि सन्तोष यादवको कप्तानीमा ‘नेपाल ए’ टोली घोषणा

Image

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भुटानमा आगामी डिसेम्बर ४ देखि १३ तारिख (मंसिर १८ देखि २७) सम्म आयोजना हुने ‘गेलेफु मेन्स टी–२० इन्टरनेसनल सिरिज, २०२६’ का लागि १४ सदस्यीय ‘नेपाल ए’ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै युवा स्पिन अलराउन्डर सन्तोष यादवको कप्तानीमा टोली सार्वजनिक गरेका हुन्।

टोलीको कप्तानी पाएका सन्तोष यादवले यसअघि सिनियर राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरिसकेका छन्। त्यस्तै, भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजबाट उत्कृष्ट प्रदर्शन गरेका सन्तोषसँगै विराटनगर किङ्सका प्रतिष जीसी, रूपेश सिंह र इमरान शेख टोलीमा समेटिएका छन्।

यसका अलावा चितवन राइनोजबाट खेलेका विवेक कुमार यादव र अशोक धामी, कर्णाली याक्सका दीपक डुम्रे र युवराज खत्री तथा जनकपुर बोल्ट्सका अभिषेक तिवारी र विशाल सुस्लिङले पनि टोलीमा स्थान बनाएका छन्। टोलीमा पोखरा एभेन्जर्सका विकेटकिपर ब्याटर अर्जुन घर्ती मगरसँगै दीपेश कँडेल, अभिषेक पाल र प्रकाश जैसी पनि समावेश छन्।

भुटान क्रिकेट काउन्सिल बोर्डको आयोजनामा गेलेफुमा हुन लागेको यस क्विन्टुपल (पाँच देशीय) प्रतियोगितामा आयोजक भुटानसहित नेपाल ‘ए’, माल्दिभ्स, बहराइन र थाइल्यान्ड गरी पाँच टोलीको सहभागिता रहनेछ।

नेपाल ‘ए’ टोली: सन्तोष यादव (कप्तान), विवेक कुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिष जीसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रूपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख।