१०औँ राष्ट्रिय खेलकुद: लुम्बिनीमाथि त्रिभुवन आर्मीको शानदार जित, ३–० ले विजयी सुरुवात

Image

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधवार सम्पन्न पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातदेखि नै दबाब बनाएको आर्मीका लागि जर्सी नम्बर २१ का भरत खवासले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औँ मिनेटमा जर्सी नम्बर १० का लाकेन लिम्बुले गोल थप्दै अग्रता दोब्बर पारे ।

खेलको ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल (ओन गोल) गरेपछि आर्मी ३–० ले अघि बढेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेँलो कार्ड पाएको म्याच अफिसर बीरेन्द्र पाण्डेले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आजै दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।