दशौँ राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा नेपाल पुलिस र सुदूरपश्चिमको शानदार सुरुवात

Image

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलको फुल कोर्ट (५×५) विधामा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । बुधबार बिहान सम्पन्न दुई छुट्टाछुट्टै खेलमा दुवै टोलीले आ-आफ्ना प्रतिद्वन्द्वीमाथि फराकिलो जित निकालेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को स्कोरले पराजित गर्‍यो । खेलको सुरुवातदेखि नै आक्रामक र लयमा देखिएको पुलिसले कर्णालीमाथि पूर्ण दबाब बनाउँदै २३ अंकको स्पष्ट अन्तरले सहज जित दर्ता गरेको हो ।

त्यस्तै, बुधबार नै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि ४७–३ को एकतर्फी जित हासिल गर्‍यो । सुरुवातदेखि नै विपक्षीलाई खुलेर खेल्ने अवसर नदिएको सुदूरपश्चिमले मधेश प्रदेशलाई मात्र ३ अंकमा रोक्दै उत्कृष्ट प्रदर्शनका साथ जित सुनिश्चित गरेको हो ।

आयोजकका अनुसार महिला बास्केटबलतर्फ बुधबार दिउँसो थ्री अन थ्री (३×३) विधाका प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन् ।