काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चाबहिल गणेशस्थानमा बुधबारदेखि सुरु हुने ऐतिहासिक श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको पूर्वसन्ध्यामा विविध सांस्कृतिक पर्व तथा कार्यक्रमहरू आयोजना गरिएको छ ।
जात्राको अवसर पारेर स्थानीय गुठी, जात्रा समन्वय समिति तथा सरोकारवालाहरूको आयोजनामा सम्पन्न उक्त सांस्कृतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी हुँदै कार्यवाहक प्रमुख डंगोलले उपत्यकाका मौलिक जात्रा तथा पर्वहरू हाम्रो पहिचान र जीवन्त सम्पदा भएकाले यिनको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले सधैँ प्राथमिकता दिँदै आएको उल्लेख गरिन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसर पारेर चाबहिल क्षेत्रमा धुमधामका साथ मनाइने श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा बुधबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ । जात्राको मुख्य दिन रथयात्रा, सिन्दूर जात्रा र विशेष पूजाआजा गर्ने परम्परा रहेको छ ।

















