धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले प्रदेशभर विजय उत्सव मनाउने भएको छ। ऐतिहासिक जितको खुसी आफ्ना समर्थक तथा क्रिकेटप्रेमीहरूसँग साट्न रोयल्सले आगामी मंसिर १३ गतेदेखि एक साता लामो ‘ट्रफी टूर’ सञ्चालन गर्ने तयारी गरेको हो।
रोयल्स व्यवस्थापनका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा ट्रफी टूर पुर्याइनेछ। टूरको सुरुवात प्रदेशका पहाडी जिल्लाहरूबाट गरिनेछ भने त्यसपछि तराईका कैलाली र कञ्चनपुरमा उत्सव मनाइनेछ। एक साता लामो उक्त ट्रफी टूरको समापन समारोह धनगढीमा भव्य कार्यक्रमका साथ आयोजना गरिने जनाइएको छ।
प्रदेशका कुनाकाप्चामा रहेका समर्थक तथा सर्वसाधारणलाई उपाधि जितको उत्सवमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो। कुन दिन, कुन जिल्लाको कुन स्थानमा ट्रफी प्रदर्शन गरिने भन्ने विस्तृत कार्यतालिका आज साँझसम्म सार्वजनिक गर्ने रोयल्सको तयारी छ।
लगातार दुई संस्करणको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा उपाधि उचालेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले सुदूरपश्चिमको क्रिकेट इतिहासमा नयाँ कीर्तिमान रचेको छ।

















