काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा भरपर्दा ब्याटर रोहितकुमार पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले बिहीबार थाइल्यान्डमा आयोजित एक विशेष समारोहबीच आफ्नी प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका हुन्।
रोहित आफैँले सामाजिक सञ्जालमार्फत विवाहका तस्बिरहरू सार्वजनिक गर्दै नयाँ जीवनको सुरुवात गरेको जानकारी गराएका छन्। तस्बिर सेयर गर्दै उनले “सपना निर्माणको सहयात्रीदेखि जीवनभरको साथीसम्म” भन्दै खुसी व्यक्त गरेका छन्।
उनको विवाह समारोहमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरालगायतका सहकर्मी खेलाडीहरू थाइल्यान्ड पुगेका छन्। साथीहरूले सामाजिक सञ्जालमार्फत नवदम्पतीलाई बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन्।
नेपाली क्रिकेटको मध्यक्रमका खम्बा मानिने रोहितले लामो समय राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालेका थिए। यसअघि अर्का राष्ट्रिय क्रिकेटर करण केसीले पनि भारतको चण्डीगढमा विवाह गरेका थिए।

















