को हुन् क्रिकेटर रोहित पौडेलकी दुलही सिम्रन खड्का ? यस्तो छ उनको अभिनय यात्रा

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएपछि अभिनेत्री तथा मोडल सिम्रन खड्का यतिबेला चर्चाको केन्द्रमा छिन्। बिहीबार थाइल्यान्डमा रोहितसँग विवाह गरेसँगै उनका समर्थक तथा शुभचिन्तकहरूले सिम्रनको व्यक्तिगत जीवन र कला यात्राबारे चासो देखाइरहेका छन्।

सन् २०१२ मा आयोजित ‘मिस लिटिल आइडल’ (Miss Little Idol) प्रतियोगितामा दोस्रो रनरअप बनेपछि सिम्रनको ग्ल्यामर क्षेत्रतर्फको यात्रा सुरु भएको थियो। सानैदेखि अभिनयप्रति विशेष रुचि राख्ने उनले अभिनयसम्बन्धी औपचारिक प्रशिक्षणसमेत लिएकी छन्।

सुरुवाती चरणमा म्युजिक भिडियोहरूमा अभिनय गर्दै कला क्षेत्रमा पाइला चालेकी सिम्रनले त्यसपछि नेपाली रजतपट (चलचित्र क्षेत्र) मा प्रवेश गरेकी हुन्। उनले ‘प्रेमगञ्ज’, ‘अगस्त्य’, ‘चित्रा’, ‘बेहुली फ्रम मेघौली’ र ‘गौंथली’ लगायतका चर्चित नेपाली चलचित्रहरूमा अभिनय गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन्।

नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा आफ्नै पहिचान बनाउँदै आएकी अभिनेत्री सिम्रन अब नेपाली क्रिकेटका लोकप्रिय ब्याटर रोहित पौडेलसँग जीवनयात्रा अघि बढाउँदै छिन्।