हिंसामुक्त समाज निर्माणको संकल्पसहित कैलाशमा १६ दिने अभियान शुभारम्भ

Image

हेटौंडा \ मकवानपुरको कैलाश गाउापालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । विहीबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले अभियानको सुरुवात गरेका हुन् ।

ब्याच र सामूहिक प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरि अभियान सुरु गरिएको हो । २५ नोभेम्बर देखि विभिन्न कार्यक्रम गर्दै १६ दिने अभियान सफलता पूर्वक सम्पन्न गरिने जनाइएको छ ।

महिला, बालबालिका तथा अन्य कुनै पनि व्यक्तिमाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा यौनजन्य हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक छ । हिंसा सहेर बस्ने होइन, हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण गर्नुपर्छ, अध्यक्ष मुक्तानले भने ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल १६ दिनमा सीमित नभई वर्षभरि नै हिंसा अन्त्यका लागि सचेतना, व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्वको अभियान बन्नुपर्ने बताउँदै घर, परिवार, समाज तथा सार्वजनिक क्षेत्रमा लैङ्गिक समानता, सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले हिंसामुक्त समाज निर्माणका लागि महिला तथा पुरुष, युवा, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सम्पूर्ण समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको बताए । हिंसा पीडितलाई न्याय, संरक्षण र सहयोग उपलब्ध गराउँदै हिंसा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले लैङ्गिक हिंसा अन्त्य गर्नु आजको समाजको साझा दायित्व हो । महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद, दुव्र्यवहार र असमान व्यवहारको अन्त्यका लागि कानुनी सचेतनासँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको बताईन् ।

लैङ्गिक हिंसा घरभित्र, कार्यस्थल, सार्वजनिक स्थान तथा विभिन्न सामाजिक क्षेत्रमा हुन सक्ने भएकाले यसको रोकथामका लागि परिवारदेखि समुदाय र राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

ब्याच र सामूहिक प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरि अभियान सुरु गरिएको महिला बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताईन् । म हिंसा गर्दिन, हिंसा सहदिन र यसको प्रतिकार गर्छु भन्ने मूल मर्मका लागि २०२६को लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको उनले बताईन् ।