बैतडी । बढ्दो बेरोजगारी र रोजगारीको खोजीमा दैनिक हजारौँ युवा विदेश पलायन भइरहेको वर्तमान अवस्थामा बैतडीका एक युवाले भने आफ्नै गाउँमा कृषि उद्यममार्फत लोभलाग्दो सफलता हासिल गरेका छन् । जिल्लाको पाटन–१० निवासी २३ वर्षीय युवा उद्यमी दीपक भट्टले कृषि तथा पशुपन्छी व्यवसायबाट मासिक करिब रु. ३ देखि ४ लाखसम्म खुद नाफा कमाउँदै आएका हुन्।
आफ्नै माटोमा केही गर्ने दृढ अठोटका साथ भट्टले ‘सिगास मल्टी एग्रो इन्डस्ट्रिज प्रा.लि. दर्ता गरी व्यावसायिक कृषि यात्रा सुरु गरेका हुन्। उनको फार्ममा हाल किवी, सुन्तला र विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको छ । यसका साथै उनले व्यावसायिक कुखुरापालन र अण्डा उत्पादनलाई पनि सँगसँगै अघि बढाएका छन् ।
विदेश जानुको सट्टा स्वदेशमै पसिना बगाएर आत्मनिर्भर बन्ने अभियानमा जुटेका भट्ट अहिले स्थानीय स्तरमा एक सफल र उदाहरणीय युवा उद्यमीका रूपमा चिनिन थालेका छन् ।
अवसर, मेहनत र इच्छाशक्ति भए स्वदेशमै बसेर पनि आर्थिक समृद्धि र उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश उनको व्यावसायिक सफलताले दिएको छ ।















