महसुल उठाउन सफल बोर्ड, सरकारी अनुदान नआउँदा विकास निर्माण प्रभावित

Image

हेटौंडा/ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको आन्तरिक आय संकलन सन्तोषजनक देखिए पनि विकास आयोजनाको खर्च प्रगति भने कमजोर देखिएको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बोर्डले बिलिङ रकमको ९०.८० प्रतिशत महसुल संकलन गरेको छ भने पुँजीगत खर्चको प्रगति ६ प्रतिशत मात्रै पुगेको छ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार पहिलो चौमासिकमा ५ करोड २८ लाख ४६ हजार रुपैयाँ बिलिङ भएकामा ४ करोड ७९ लाख ८४ हजार रुपैयाँ संकलन भएको छ। तर संघ, प्रदेश र स्थानीय सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नआउँदा विकास निर्माणतर्फको खर्च प्रभावित भएको बोर्डले जनाएको छ।

हेटौंडाका वडा नं. १२ र १३ बाहेक अन्य वडाका करिब १ लाख ७० हजार नगरवासीलाई सेवा दिँदै आएको बोर्डले ३० हजार १९२ निजी तथा संस्थागत धारामार्फत दैनिक ३ करोड ७० लाख लिटर पानी वितरण गरिरहेको छ।

बोर्डको २० करोड रुपैयाँ लागतको सिमलटार, हटिया, रातोमाटे खानेपानी आयोजना पहिलो चरणको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ। ३८ करोड ९१ लाख रुपैयाँभन्दा बढी लागतको दोस्रो चरणको आयोजनाका लागि बोलपत्र आह्वान गरिएको छ।

पाइपलाइनमा सडक तथा ढल निर्माणका क्रममा हुने क्षति, पुराना पाइप प्रतिस्थापन, चुहावट नियन्त्रण र बढ्दो सञ्चालन खर्च बोर्डका प्रमुख चुनौती बनेका छन्।

बोर्ड अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामालगायत जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।