थाइल्याण्ड उड्यो नेपाली फुटबल टिम, यस्तो छ खेल तालिका

Image

काठमाडौं ।

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेका छन् । नेपाली टोली अपरान्ह थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबार नै बिदाइ गरेको थियो। नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।

यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।