काठमाडौं ।
युगाण्डासँगको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल १ विकेटले पराजित भएको छ । यो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २–० ले पछि परेको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।
पाहुना टोली युगाण्डाले भने सिरिजमा लगातार दोस्रो जित निकाल्दै लय कायमै राखेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले दिएको १०२ रनको लक्ष्य युगाण्डाले एक बल बाँकी छँदा ९ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि रिता मुसामालीले ३०, फ्रान्कलिन नाजुम्बाले १९ र जेनेट एम्बाबाजीले १६ रन बनाए । बाँकी अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कविता कँुवर र सबनम राईले दुई/दुई तथा रुबिना क्षेत्री र सीता राना मगरले एक/एक विकेट हात पारे । नेपालले तीन विकेट भने रन आउटकोा रूपमा प्राप्त गर्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रन बनायो । नेपालका लागि विन्दु रावलले सर्वाधिक २६, सरिता मगरले २२ र कप्तान रुबिना क्षेत्रीले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युगाण्डाका लागि जेनेट एम्बाबाजीले दुई तथा कोन्सी अवेको एभलिन एनिपो र रिता मुसामालीले एक/एक विकेट हात पारे । दुई विकेट भने उसललाई रन आउटको रूपमा प्राप्त भयो । नेपाल र युगाण्डाबीचको तेस्रो खेल बिहीबार हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।
पाँच ब्याटर रनआउट
आज पनि नेपाली टिम रन आउटकै कारण समस्यामा देखियो । अघिल्लो खेलमा ३ ब्याटरलाई नेपालले रनआउटको रूपमा गुमाएको थियो । नेपालले सोही गल्ती आज पनि दोहोर्यो । दोस्रो खेलमा नेपालले सीता राना मगर (७) र कप्तान रुबिना क्षेत्री (१७) लाई रन आउटकाे रूपमा गुमाउन पुग्यो ।
यी दुई ब्याटर रनआउट हुनु नै नेपाल हारको मुख्य कारण बन्न पुग्यो । त्यस्तै, युगाण्डाले तीन ब्याटरलाई रन आउटको रूपमा गुमायो । उसले रिता मुसमाली (३०), लियोना बेबिरे (४) र सारा वालाजालाई शून्यमा रनआउटको रूपमा गुमाएको हो । दोस्रो खेलमा दुवै टिमको गरी ५ ब्याटर रनआउटको सिकार भए ।

















