उत्कृष्ट प्रदर्शनका बाबजुद अचानक उपकप्तानबाट बर्खास्त भएपछि यस्तो भन्छिन् सीता

Image

काठमाडौं ।

युगाण्डासँगको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल १ विकेटले पराजित भएको छ । यो हारसँगै पाँच खेलको सिरिजमा नेपाल २–० ले पछि परेको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।

पाहुना टोली युगाण्डाले भने सिरिजमा लगातार दोस्रो जित निकाल्दै लय कायमै राखेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले दिएको १०२ रनको लक्ष्य युगाण्डाले एक बल बाँकी छँदा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि रिता मुसामालीले ३०, फ्रान्कलिन नाजुम्बाले १९ र जेनेट एम्बाबाजीले १६ रन बनाए । बाँकी अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कविता कुँवर र सबनम राईले दुई/दुई तथा रुबिना क्षेत्री र सीता राना मगरले एक/एक विकेट हात पारे । नेपालले तीन विकेट भने रन आउटकोा रूपमा प्राप्त गर्‍यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रन बनायो । नेपालका लागि विन्दु रावलले सर्वाधिक २६, सरिता मगरले २२ र कप्तान रुबिना क्षेत्रीले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगाण्डाका लागि जेनेट एम्बाबाजीले दुई तथा कोन्सी अवेको एभलिन एनिपो र रिता मुसामालीले एक/एक विकेट हात पारे । दुई विकेट भने उसललाई रन आउटको रूपमा प्राप्त भयो । नेपाल र युगाण्डाबीचको तेस्रो खेल बिहीबार हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।

पाँच ब्याटर रनआउट

आज पनि नेपाली टिम रन आउटकै कारण समस्यामा देखियो । अघिल्लो खेलमा ३ ब्याटरलाई नेपालले रनआउटको रूपमा गुमाएको थियो । नेपालले सोही गल्ती आज पनि दोहोर्‍यो । दोस्रो खेलमा नेपालले सीता राना मगर (७) र कप्तान रुबिना क्षेत्री (१७) लाई रन आउटकाे रूपमा गुमाउन पुग्यो ।

यी दुई ब्याटर रनआउट हुनु नै नेपाल हारको मुख्य कारण बन्न पुग्यो । त्यस्तै, युगाण्डाले तीन ब्याटरलाई रन आउटको रूपमा गुमायो । उसले रिता मुसमाली (३०), लियोना बेबिरे (४) र सारा वालाजालाई शून्यमा रनआउटको रूपमा गुमाएको हो । दोस्रो खेलमा दुवै टिमको गरी ५ ब्याटर रनआउटको सिकार भए ।

अचानक कप्तानबाट हटाएपछि के भन्छिन् सीता?

दुबईमा सम्पन्न फेयर ब्रेकपछि टोलीमा समावेश भएकी पूर्वउपकप्तान सीता राना मगरले आफ्नो उपकप्तान खोसिएको बारे प्रतिक्रिया दिएकी छन् । युगाण्डासँगको खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा याे विषयमा उनले क्यानको निर्णयमा खुसी नै भएको प्रतिक्रिया दिइन् ।

‘क्यानले निर्णय गरेको हो । मैले निर्णय मान्नैपर्छ । क्यानले पनि राम्रोकै लागि यो निर्णय गरेको हुनुपर्छ,’ सीताले भनिन् । उनले आफूले उपकप्तान परिवर्तन गरेको खबर मिडियाबाट थाह पाएको पनि उल्लेख गरिन् ।

‘मैले आफू उपकप्तानबाट हटेको सञ्चारमाध्यमबाट थाहा पाए । मलाई यो विषयमा केही जानकारी थिए । तर, पनि केही छैन । आफ्नो अभिभावक संस्थाले गरेको निर्णय पालना गर्नेछु, क्यानले मेरो सम्मान गरेकै छ । आफ्नोतर्फबाट अझै उत्कृष्ट खेल्नेछु,’ सीताले भनिन् । उनले आफूभन्दा ठूलो क्यान भएको बताउँदै नेपाल एपिएफ क्लबलाई नेतृत्व गरिरहने बताइन् ।