नेपाल टी-२० लिगको मिति घोषणा, ‘ए’ ग्रेडका खेलाडीले पाउने छन् लाखौं रुपैयाँ

Image

काठमाडौं ।

नेपाल टी–२० लिग खेल्ने ‘ए’ ग्रेडका खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार खेलाडी पाउने रकम सार्वजनिक गरेको हो । नेपाल टी–२० लिग क्रिकेट असोज ८ बाट कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

६ टोलीको सहभागिता हुने प्रतियोगितामा ‘बी’ ग्रेडका खेलाडीले न्यूनतम १० लाख र ‘सी’ ग्रेडका खेलाडीले न्यूनतम ५ लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यस्तै, क्यानले टी–२० लिगका लागि ‘स्ट्रटेजिक एन्ड कमर्सियल’ पार्टनरको रुपमा सेभन थ्री स्पोर्ट्स नामक एक बेटिङ कम्पनीसँग सम्झौता गरेको विषय पनि सार्वजनिक भएको छ । यस विषयमा जवाफ दिँदै क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले सेभन थ्री स्पोर्ट्स बेटिङ कम्पनी नभएको दावी गरे ।

कमर्सियल पार्टनर बिडिङमार्फत हुनपर्ने भन्ने प्रश्नमा जवाफ दिँदै मल्लले अन्य राष्ट्रमा चलेकै परिपाटी पछ्याएर खुला प्रतिस्पर्धाबिनै भारतीय कम्पनी सेभेन थ्री स्टार कम्पनीलाई छनोट गरेको बताए । ‘कुनै पनि बोर्डले कमर्सियल पार्टनर भित्र्याउँदा बिडिङमार्फत गरिँदैन । यो नेपाल क्रिकेट संघको आफ्नो सम्पत्ति हो,’ मल्लले भने, ‘हामीसँग विभिन्न कम्पनी र मानिसहरू नेपाल टी२० क्रिकेट लिगको कमर्सियल पार्टनर बन्न इच्छुक रहेको भन्दै सम्पर्कमा आउनु भएको थियो । हामीलाई सबैभन्दा आकर्षक प्रस्ताव भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसबाट आयो । हामीले यसबारे क्यानको साधरणसभामा छलफल गरेर त्यहाँबाट पास गरेका हौ । यो संसारभर चलेको परिपाटी हो ।’

कमर्सियल पार्टनरको रुपमा रहेको सेभेन थ्री स्पोट्र्सले क्यानसँग आठ वर्षको सम्झौता गरेको छ । जसअन्तर्गत सेभेन थ्री स्पोटर्सले क्यानलाई कुल ३३ करोड रुपैयाँ दिनेछ । वार्षिक रुपमा भने क्यानले चार करोड १२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।