कोलकातालाई २ रनले हराउँदै लखनउ आइपिएलको प्लेअफमा

Image

काठमाडौं ।

नवप्रवेशी टोली लखनउ सुपर जायन्ट्स भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई २ रनले हराउँदै ऊ प्लेअफमा प्रवेश गरेको हो । लखनउ जारी सिजनमा प्लेअफमा पुग्ने दोस्रो टोली बन्यो ।

यसअघि अर्को नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरिसकेको छ । यो हारसँगै कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ । उसले १४ म्याचमा ८ मा हार र ६ खेलमा मात्र जित निकाल्यो ।

लिग चरणको अन्तिम खेलमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो । उसका लागि कप्तान श्रेयस अय्यरले ५०, नितिश राणाले ४२, रिंकु सिंहले ४०, साम बिलिङ्सले ३६ र सुनिल नारायणले अविजित २१ रन बनाए ।

लखनउका लागि मार्कस स्टोइनिस, मोहसिन खानले तीन/तीन, रवि विश्नोई र कृष्णप्पा गौतमले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियमा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा बिनाविकेटको क्षतिमा २१० रन बनायो ।

उसका लागि क्विन्टन डिकक र कप्तान केएल राहुलले शानदार पारी खेले । डिककले ७० बलमा १० छक्का र १० चौकासहित अविजित १४० रन बनाए । जारी सिजनमा शतक बनाउने उनी तेस्रो ब्याटर हुन् । यही सिजनमा केएल राहुल र जोस बटलरले पनि शतक बनाइसकेका छन् ।

आइपिएल करियरमा डिककको यो तेस्रो शतक हो । यसअघि उनले २०२२ र २०१६ मा शतकीय पारी खेलेका थिए । कोलकाताविरुद्ध खेलेको पारी डिककको आइपिएल करियरमा अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि आइपिएलमा उनको उच्च स्कोर १०८ रन थियो ।

डिककले कोलकाताविरुद्ध १९ औं ओभरमा लगातार तीन छक्का र २० औं ओभरमा लगातार चार चौका पनि हिर्काउन सफल भए । त्यस्तै, राहुलले पनि शानदार पारी खेले । ५१ बलको सामना गरेका उनले चार छक्का र तीन चौकाको सहयोगमा अविजित ६८ रन बनाए ।