काठमाडौं ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ । पाँच खेलको सिरिजमा युगान्डा २-० ले अघि रहेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
मंगलबार भएको दोस्रो खेलमा नेपालले दिएको १०२ रनको लक्ष्य युगाण्डाले एक बल बाँकी छँदा ९ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि रिता मुसामालीले ३०, फ्रान्कलिन नाजुम्बाले १९ र जेनेट एम्बाबाजीले १६ रन बनाए । बाँकी अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कविता कुँवर र सबनम राईले दुई/दुई तथा रुबिना क्षेत्री र सीता राना मगरले एक/एक विकेट हात पारे । नेपालले तीन विकेट भने रन आउटकोा रूपमा प्राप्त गर्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रन बनायो । नेपालका लागि विन्दु रावलले सर्वाधिक २६, सरिता मगरले २२ र कप्तान रुबिना क्षेत्रीले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युगाण्डाका लागि जेनेट एम्बाबाजीले दुई तथा कोन्सी अवेको एभलिन एनिपो र रिता मुसामालीले एक/एक विकेट हात पारे । दुई विकेट भने उसललाई रन आउटको रूपमा प्राप्त भयो । नेपाल र युगाण्डाबीचको तेस्रो खेल बिहीबार हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।
त्यसैले सिरिज जोगाउन नेपाललाई आज युगान्डाविरुद्ध जितको बिकल्प छैन । यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी-ट्वान्टी खेल्न खेल्नेछ ।














