रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

Image

काठमाडौं ।

आसन्न सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । क्यानले आज उनलाई उपकप्तानको जिम्मेवारी दिएको जनाएको हो । नेपाली टिम लामो समयदेखि उपकप्तानविहीन थियो ।

दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेपछि उपकप्तानको जिम्मेवारी कुनै पनि खेलाडीलाई दिइएको थिएन । नेपालले जुनमा अमेरिकामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ । सो श्रृंखलामा नेपालले अमेरिकासहित ओमानको सामना गर्नेछ । यही सिरिजका लागि रोहितलाई उपकप्तान बनाइएको क्यानले जनाएको छ ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ९ जुनदेखि अमेरिकामा सिरिज खेल्नेछ । नेपालले सिरिजमा अमेरिकासहित ओमानको सामना गर्ने तालिका छ । यो श्रृंखला १५ जुनसम्म चल्नेछ ।

हालसम्म नेपालले विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमा टिमले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । ओमान भने तालिकाको शीर्ष छ ।

अमेरिका १६ खेलबाट १४ अंकसहित पाँचौं स्थानमा छ । विश्वकप लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीनमा रहने टोली अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।