काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६७ औं खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई १६९ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो ।
उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा चार चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए । जारी सिजनमा पाण्ड्याको यो चौथो अर्धशतकीय पारी हो । राशिद खानले ६ बलमा दुई छक्का र एक चौकासहित अविजित १९ रनको आक्रामक पारी खेले ।
त्यस्तै, डेविड मिलरले ३४, ऋद्धिमान साहले ३१ र म्याथ्यू वेडले १६ रनको योगदान दिए । आरसिबीका लागि जोस हेजलउडले दुई, वानिन्दु हसरंगा र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए । आरसिबीलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।
प्लेअफमा स्थान बनाउन आजको खेल आरसिबीको लागि निकै महत्वपूर्ण । ऊ १३ खेलबाट १४ अंकका साथ पाँचौं स्थानमा छ । गुजरातले भने यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । उसले १३ म्याचमा तीनमा हार र १० खेलमा जित हात पारेको छ ।














