चेन्नईलाई हराउँदै राजस्थान आईपीएलको प्लेअफमा, अब दिल्ली र बैंग्लोरमध्ये एकको सम्भावना

Image

काठमाडौं ।

राजस्थान रोयल्स भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्स (सिएसके) लाई ५ विकेटले हराउँदै राजस्थान प्लेअफमा प्रवेश गरेको हो । जारी सिजनमा प्लेफ पुग्ने राजस्थान तेस्रो टोली हो ।

यसअघि गुजरात र लखनउले प्लेअफको टिकट काटिसकेका छन् । प्लेफ पुग्ने चौथो टोलीमा बैंग्लोर र दिल्लीमध्ये एक बन्नेछ । आज हुने मुम्बईसँगको खेलमा जित हात पारे दिल्लीले प्लेअफको यात्रा गर्नेछ । उसले हार बेहोरे भने बैंग्लोरले प्लेअफको स्थान सुरक्षित गर्ने समीकरण छ ।

लिग चरणमा आफ्नो अन्तिम खेलमा चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि यशस्वी जैसवालले ४४ बलमा आठ चौका र एक छक्कासहित ५९ रन बनाए । त्यस्तै, रविचन्द्रन आश्विनले २३ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा अविजित ४० रनको पारी खेले ।

कप्तान सञ्जु सामसनले १५ र रियान परागले अविजित १० रनको योगदान दिए । चेन्नईका लागि प्रशान्त सोलंकीले दुई, मोइन अली, मिचेल सान्टनर र सिमरजीत सिंहले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनायो ।

उसका लागि अलराउन्डर मोइन अलीले शानदार पारी खेले । उनले ५७ बलमा १३ चौका र तीन छक्कासहित ९३ रन बनाए । मोइन जारी सिजनमा सर्वाधिक छिटो अर्धशतक बनाउने दोस्रो ब्याटर बनेका छन् । राजस्थानविरुद्ध उनले १९ बलमा अर्धशतक बनाए ।

ऋतुराज गायकवाड २ रनमै आउट भएपछि क्रिजमा आएका अलीले आक्रामक ब्याटिङ गरे । उनले आठ चौका र तीन छक्कासहित १९ बलमा अर्धशतक पूरा गरे । अलीले छैटौं ओभरमा ट्रेन्ट बोल्टविरुद्ध एक छक्का र लगातार पाँच चौका हिर्काउँदै खेलमा थप रोमाञ्चकता दिलाए ।

जारी सिजनमा सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड भने प्याट कमिन्सको नाममा छ । कोलकाताबाट खेल्दै उनले मुम्बई इण्डियन्सविरुद्ध १४ बलमै अर्धशतक बनाएका थिए । त्यस्तै, शुक्रबार राजस्थानविरुद्ध कप्तान महेन्द्रसिंह धोनीले २६ र डेभन कन्वेले १६ रनको योगदान दिए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि युजवेन्द्र चहल, ओबेद म्याक्योले दुई/दुई, रविचन्द्रन आश्विन र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।