यसकारण अब्दुल्लाह अल्मुताइरीलाई प्रशिक्षकबाट बर्खास्त गर्न गाह्रो

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अहिले पनि चर्चाको शिखरमा छन् । खेलाडीसँगको विवादका कारण उनको चर्चा नसेलाएको हो । राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित सिनियर खेलाडी एफएसी एसियन कप छनोटको टिममा समावेश नगरिएपछि अल्मुताइरीको आलोचना र समर्थन भइरहेको छ ।

दश खेलाडीसँग विवाद भएपछि एन्फाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिकाे प्रतिवेदनमा अल्मुताइरीको गल्ती देखिएको छ । छानविन समितिले अल्मुताइरीलाई कतार फुटबलसँग परामर्श गरेर मुख्य प्रशिक्षक परिवर्तन गर्न बताएको छ । त्यसैमा दुइ मत बाजिएको छ ।

अल्मुताइरीलाई कतार फुटबल एसोसियसनले पारिश्रमिक दिएर पठाएको हो । उनलाई परिवर्तन गर्नका लागि कतार फुटबलको सहमति आवश्यक पर्ने भएको छ । कतार फुटबलले नमाने उनी नेपालमा नै रहनेछन् । यद्यपि एन्फासँग उनलाई बर्खास्त गर्ने अधिकार पनि छ । त्यसका लागि एन्फाले सम्झौताअनुसार अल्मुताइरीलाई दुई वर्षसम्मको पारिश्रमिक दिनुपर्ने हुन्छ ।

एन्फा आफैं पछिल्लो समय ऋणमा छ । जसकारण पनि अहिले अल्मुताइरी मुख्य प्रशिक्षकबाट हट्ने सम्भावना कम छ । उसै पनि छानविन समितिले एएफसी एसियन कपपछि मात्र अल्मुताइरीलाई परिवर्तन गर्ने कुरा गरेको छ । यता अल्मुताइरीले एन्फासँग दुई वर्षको सम्झौता गरिसकेका छन् । साफ फुटबलको फाइनलपछि उनले कतार फुटबल एसोसियसनको रोहबरमा नयाँ सम्झौता गरेका थिए ।