कठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई अभ्यास म्याच खेल्ने भएको छ । अमेरिकामा हुने सिरिजअघि नेपालले पूर्वनेपाली खेलाडी सम्मिलित टोलीसँग दुई एकदिवसीय अभ्यास म्याच खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पूर्वनेपाली क्रिकेट खेलाडीद्वारा सञ्चालित अमेरिकी क्रिकेट क्लब नेपाली अल स्टार्ससँग मिलेर अभ्यास भ्रमणलाई सहज बनाउन अभ्यास खेल्ने तयारी गरेको हो । नेपालले २ जुनमा नेपाली अल स्टार्स र ४ जुनमा ह्युस्टन हरिकेन्सविरुद्ध दुई वानडे म्याच खेल्नेछ ।
अमेरिका भ्रमणका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ । यो सिरिजमा नेपालले अमेरिकासँगै ओमानको सामना गर्नेछ । नेपालले श्रृंखलामा पहिलो म्याच ९ जुनमा ओमानविरुद्ध खेल्नेछ । यो श्रृंखला १५ जसनसम्म चल्नेछ ।
हालसम्म नेपालले विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । ओमान भने अंक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १६ खेलबाट १४ अंकसहित पाँचौं स्थानमा छ ।
सिरिज खेल्ने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो रसागर ढकाल ।














