कठमाडौं ।
दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीमा छनोट भएपछि विकेटकिपर/ब्याटर दिनेश कार्तिकले प्रतिक्रिया दिएका छन् । कार्तिकले अन्तिमपटक भारतीय टिमबाट २०१९ मा खेलेका थिए । त्यसपछि उनले कुनै पनि फर्म्याटमा भारतको प्रतिनिधित्व गर्ने मौका पाएका थिएनन् ।
तर, उनले हार मानेनन् । र, बलियो प्रदर्शनका साथ चयनकर्तालाई प्रभावित पार्दै एकपटक फेरि कार्तिकले टोलीमा पुनरागमन गरे । फेरि राष्ट्रिय टिममा कमब्याक गरेपछि आरसीबीको बोल्ड डायरीमा कुराकानीको क्रममा ३६ वर्षीय कार्तिकले भनेका छन्, ‘म छनोटबाट धेरै खुसी छु। म भन्न चाहन्छु कि यो मेरो सबैभन्दा विशेष कमब्याक हो किनभने धेरैले सोचेका थिए कि म फर्कन सक्दिन। तर, त्यहाँबाट फर्केर आउनु धेरै विशेष छ। मैले के गरेँ ।’
कार्तिकलाई जारी सिजनको आईपीएल प्रदर्शनको आधारमा भारतीय टोलीमा चयन गरिएको हो । उनले आईपीएल २०२२ मा आरसीबीका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले म्याच फिनिशरको रूपमा धेरै शानदार इनिङ्स खेले ।
उनले लिग चरणका १४ खेलमा ५७.४० को औसत र १९१.३३ को स्ट्राइक रेटमा २८७ रन बनाएका छन् । यस क्रममा उनी ९ पटक अविजित रहे । यही कारण उनलाई दक्षिण अफ्रिका सिरिजका लागि भारतीय टोलीमा छनोट गरिएको हो ।














