काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ बजेदेखि सुरु हुनेछ । आज विजयी हुने टिमले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
गुजरातको टोलीलाई सबैभन्दा ठूलो खतरा जोस बटलरबाट छ । उत्कृष्ट ब्याटिङ गरिरहेकाले पनि गुजरातलाई बटलरको डर लागेको हो । यद्यपि पछिल्लो केही खेलमा उनको ब्याट चल्न सकेको छैन । यसैबीच, गुजरातका स्टार अलराउन्डर राहुल तेवटियाले राजस्थान रोयल्सविरुद्धको क्वालिफायर खेलअघि जोस बटलरलाई लिएर प्रतिक्रिया दिएका छन् ।
‘बटलर मैदानभित्र निकै आक्रामक तरिकाले ब्याटिङ गर्छन्, मैदान बाहिर भने उनी शान्त देखिन्छन् । म उनले ओरेन्ज क्याप जितेको हेर्न चाहन्छु । तर, क्वालिफायरमा हामीविरुद्ध रन भने नबनाउन् भन्ने चाहन्छु । यदि उनको ब्याट चलेमा विपक्षी जुन कुनै टिम पनि हार्न सक्छन्,’ तेवटियाले भनेका छन् ।
साथै, गुजरातका अर्का खेलाडी डेविड मिलरले भनेका छन्, ‘जोस बटलर एकदमै बलियो खेलाडी हुन् । उनले यो सिजन जसरी ब्याटिङ गरिरहेका छन्, साँच्चिकै उत्कृष्ट लयमा छन् उनी ।’ गत सिजनमा तेवटिया र मिलर राजस्थानमा थिए ।
उनीहरूले बटलरलाई राम्रोसँग चिन्छन् । तेवटिया र मिलरलाई बटलर कति खतरनाक छन् भन्ने कुरा राम्ररी थाहा छ । जारी सिजनमा बटलरले १६ खेलमा तीन शतक र तीन अर्धशतकसहित ६२९ रन बनाएका छन् ।














