काठमाडौं ।
राष्ट्रिय क्रिकेट खेलाडी राजु रिजालले कैलालीको धनगढीमा जारी धनगढी सुपर लिग टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । धनगढी क्रिकेट एकेडेमीको कप्तानी गरिरहेका उनले चार खेलमा तीन अर्धशतकीय पारी खेलेका हुन् ।
रिजालले चार खेलमा २ सय १३ रन बनाएका छन् । उनले टिमको पहिलो खेलमै ७७ रनको उत्कृष्ट पारी खेलेका थिए । मंगलबार कैलाली जिल्ला क्रिकेट क्लब विरुद्धको खेलमा पनि उनले ५१ रनको उत्कृष्ट इनिङ्स खेले ।
राजुे पहिलो, तेस्रो र चौथो खेलमा अर्धशतकीय पारी खेलेका हुन् । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुनेछ । प्रालिका अध्यक्ष रामचन्द्र शाहीका अनुसार प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर/ब्याटरले तथा उदीयमान खेलाडीले ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।














