नेपाली फुटबल टिमले पायाे नयाँ कप्तान

Image

काठमाडौं ।

नवयुग श्रेष्ठले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन् । मंगलबार एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको हो । प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् ।

नेपाली टोली यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् । उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । एन्फाले आज नै कतारमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरेको छ ।

मंगलबार साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाई गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीलाई बिदाई गर्दै उत्कृष्ट खेल प्रर्दशनका लागि शुभकामना दिएका थिए । नेपाली टिम बुधबार कतार उड्नेछ ।

अफगानिस्तान कतार आउन नमानेपछि तयारी स्वरुप नेपालले खेल्ने दुई मैत्रीपूर्ण खेल स्थगित भैसकेको छ । कतारमा नेपालले बाँकी तयारी सक्नेछ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपाली टोली : दीप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा (गोलकिपर), विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, नवयुग श्रेष्ठ (कप्तान), सुमन अर्याल, आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सुनिल बल, सुरज ज्यू ठकुरी, आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, सन्तोष तामाङ र सेसेहाङ आङ्दाम्बे ।