राजस्थानलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा, मिलरले हिर्काए तीन बलमा तीन छक्का

Image

काठमाडौं ।

नवप्रवेशी गुजरात टाइटन्स भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

गुजरातको यो डेब्यू सिजन हो । उसले पहिलो संस्करणमै फाइनलको टिकट पक्का गर्न सफल भयो । अब गुजरातले उपाधिको लागि फाइनलमा दोस्रो क्वालिफायरबाट विजेता टोलीको सामना गर्नेछ । क्वालिफायर खेलमा राजस्थानले दिएको १८९ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डेविड मिलरले आक्रामक पारी खेले । ३८ बलको सामना गरेका उनले पाँच छक्का र तीन चौकासहित अविजित ६८ रन बनाए । अन्तिम ओभरमा गुजरातलाई जितको लागि १६ रनको आवश्यकता थियो । यो ओभरमा मिलरले लगातार तीन बलमा तीन छक्का हिर्काउँदै शानदार जित दिलाए ।

त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २७ बलमा पाँच चौकासहित अविजित ४० रनको योगदान दिए । शुभमन गिल र म्याथ्यू वेड ३५/३५ रनमा आउट भए । राजस्थानका लागि ओबेद म्याक्यो र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । राजस्थानलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनायो । उसका लागि ओपनिङ ब्याटर जोस बटलरले उत्कृष्ट पारी खेले । उनले ५६ बलमा १२ चौका र दुई छक्कासहित ८९ रन बनाए ।

जारी सिजनमा बटलरको यो चौथो अर्धशतकीय पारी हो । उनले यही सिजनमा तीन शतकीय पारी पनि खेलिसकेका छन् । त्यस्तै, कप्तान सञ्जु सामसनले २६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४७ रन बनाए ।

देवदत्त पाडिक्कल २८, रियान पराग चार र यशस्वी जैसवाल तीन रनमा आउट भए । गुजरातका लागि हार्दिक पाण्ड्या, मोहम्मद शामी, रविसारनिवासन साई किशोर र यश दयालले एक/एक विकेट लिए । पराजित भए पनि राजस्थानलाई अझै फाइनल पुग्ने अवसर भने छ । राजस्थानले फाइनल प्रवेशका लागि लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।