काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न एलिमिनेटरको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई जित दिलाउन रजत पाटीदार नायक सावित भए । लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा उनले ५४ बलमा १२ चौका र ७ छक्कासहित अविजित ११२ रनका पारी खेले ।
विराट कोहली, फाफ डुप्लेसिसलगायत स्टार खेलाडी रन बनाउन संघर्ष गरिरहेको अवस्थामा पाटीदारले विस्फोटक ब्याटिङ गरे । उनकै शतकीय पारीमा बैंग्लोरले लखनउलाई १४ रनले हरायो । पार्टीदार चम्किँदा बैंग्लोर दोस्रो क्वालिफायरमा पुगेको छ ।
बैंग्लोरले अब फाइनल प्रवेशका लागि राजस्थान रोयल्सको सामना गर्नेछ । बैंग्लोरलाई फाइनल नजिक पुगेका पाटीदार मेगा अक्सनमा कुनै पनि टिमले नकिनेका खेलाडी हुन् । २०२१ मा उनी बैंगलोरको टोलीमा थिए । सो सिजनमा उनले चार खेलमा मात्र मौका पाए । पाटीदारले चार खेलमा १७.७५ को औसत र ११४.५२ को स्ट्राइक रेटमा ७१ रन बनाएका थिए ।
१४ औं सिजन कमजोर रहेकाले यसपालिको अक्सनमा उनलाई बैंग्लोरले पनि अनुबन्ध गरेको थिएन । तर, बैंग्लोरका खेलाडी लवनीथ सिसोदिया घाइते हुँदा उनको स्थानमा पाटीदारले मौका पाएका थिए । आइपिएल २०२२ को अक्सनमा पाटीदारले २० लाख भारु बेस प्राइस राखेका थिए ।
खेल सकिएपछि पार्टीदारको बारेमा क्रिकेट विश्लेषक हर्ष भोग्लेले भनेका छन्, ‘रजतको विषयमा धेरैलाई थाहा नहुन सक्छ । उनी यस सिजनको सुरुदेखि नै बैंग्लोरको टोलीमा परेका थिएनन् । बैंग्लोरका खेलाडी लवनीथ सिसोदिया घाइते भएपछि आइपीएलको बीचमा उनलाई टोलीमा स्थान दिइएको थियो ।’
जारी सिजनमा पाटीदारले बैंग्लोरका लागि अन्य खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । लिग खेलमा उनले गुजरातविरुद्ध ५२ र हैदरावादविरुद्ध ४८ रन बनाएका थिए । पाटीदारले बैंग्लोरका लागि ५५ को औसत र १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन् ।














