काठमाडौं ।
बंगलादेशविरुद्धको टेष्ट सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकाले पहिलो पारीमा ५०६ रन बनाएको छ । बंगलादेशको मिरपुरस्थित शेरे बंग्ला राष्ट्रिय क्रिकेट स्टेडियममा श्रीलंका खेलको चौथो दिनमा ५०६ रनमा अलआउट भएको हो ।
योसँगै श्रीलंकाले १४१ रनको अग्रता पाएको छ । उसका लागि दुई अनुभवी ब्याटर एन्जेलो म्याथ्यूज र दिनेश चन्डिमलले शानदार पारी खेले । म्याथ्यूजले ३४२ बलमा १२ चौका र दुई छक्कासहित अविजित १४५ रन बनाए । त्यस्तै, चन्डिमलले २१९ बलमा ११ चौका र एक छक्कासहित १२४ रनको योगदान दिए ।
कप्तान दिमुथ करुणारत्ने ८०, धनन्जय डिसिल्भा ५८, ओशादा फर्नान्डो ५७, कुशल मेन्डिस ११ र रमेश मेन्डिस ११ रनमा आउट भए । बंगलादेशका लागि शाकिवअल हसनले पाँच र एबादोत हुसेनले चार विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले पहिलो पारीमा ३६५ रन बनायो । उसका लागि मुश्फिकुर रहीम र लिटन दासले शतकीय पारी खेले । रहिमले ३५५ बलमा २१ चैकासहित अविजित १७५ रन बनाए । त्यस्तै, दासले २४६ बलमा १६ चौका र एक छक्काको सहयोगमा १४१ रनको योगदान दिए ।
तजिउल इश्लाम १५ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि कसुन रजिताले पाँच र असिथा फर्नान्डोले चार विकेट लिए । दुई म्याचको श्रृंखलाको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।














